काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् ।
गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता पहिलोपटक औपचारिक रूपमा हिन्दू धर्मको विषयले प्रवेश पाएको थियो । सो बखत नेता शंकर भण्डारी र महासमिति सदस्य राजुराम जोशीले हिन्दू राष्ट्र पुनस्र्थापनाको मुद्दा महासमितिसम्म ल्याएका थिए भने बैठकमा ७ सय महासमिति सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउँदै धर्मनिरपेक्षताको विषयमा पार्टीले पुनर्विचार गर्नुपर्ने आवाज उठेको थियो ।
हाल कांग्रेसभित्र सो विषय चर्को रूपमा उठेको छ । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले महाधिवेशनमा हिन्दू धर्मको विषय एजेन्डाका रूपमा आए पार्टीले कसरी व्यवस्थापन गर्न सक्छ भनी पार्टी नेतृत्वसँग प्रश्न गरेका थिए । उनले धर्मका विषयमा पार्टीले संवेदनशील हुनुपर्ने राय बैठकमा राखेका थिए । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया