काठमाडौंमा सुरु भयो विद्युतीय बस सेवा, मोबाइलबाटै भाडा बुझाउन सकिने

काठमाडौं । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि आजदेखि सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो । ‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गर्नुभएको छ ।

मोबाइलबाटै भाडा बुझाउन सकिने

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घण्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ । यी बसमा नै आधुनिक तवरको ‘स्मार्ट पेमेन्ट सिस्टम’ जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ ।

कम्पनीले २१५ रुपैयाँ मुल्यको यात्रा कार्डको विक्री पनि सुरु गर्दैछ ।

विद्युतीय बसको पाँच रुटहरूमा चक्रपथ परिक्रमा, नारायणथान-जावलाखेल-मेडिसिटी अस्पताल, गोंगबु-सामाखुसी-गौशाला-कोटेश्वर-सल्लाघारी, ढुंगेअड्डा-कलंकी-त्रिपुरेश्वर-वीर अस्पताल-जमल-कृष्णपाउरोटी-रातोपुल-गौशाला-चाबहिल-बौद्ध-अत्तरखेल र सूर्यविनायक-कोटेश्वर-बानेश्वर-वीर अस्पताल-जमलसम्म रहेका छन् ।

यात्रुले यो बसमा यात्रा गर्दा कार्ड, ई-सेवा, प्रभु पे, खल्ती, आईएमई पेमेन्ट गेट वे तथा नगदबाट पनि भाडा तिर्न सक्ने छन् । नगद भाडाका लागि सहचालकलाई नोट दिने र उक्त नोट बराबर सहचालकले दिएको सिक्का बक्समा राख्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?