ऐतिहासिक पेट्रोलियम पाइपलाइनको उद्घाटन, काठमाडौंमा स्वीच थिचेपछि अमलेखगन्जमा तेल झर्‍यो

काठमाडौं । बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियन पाइपलाइन परियोजनाको नेपाल–भारतका प्रधानमन्त्रीले स्विच दबाएर उद्घाटन गरेका छन् । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्विच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि अमलेखगन्जमा झरेको तेल इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रमुखले बोतलमा तेल थापी नेपाल आयल निगम प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । पहिलो चरणमा पाइपलाइनबाट डिजेल ल्याइनेछ । यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

यसअघि गत साउन ३ मा परीक्षणको रुपमा पहिलोपटक पाइपलाइनबाट नेपाल तेल आएको छ। पेट्रोलियम पाइपलाइन परियोजनाले परीक्षणका रुपमा भारतको पटनाबाट साउन १ मा पठाइएको डिजेल त्यसको २ दिनपछि नेपालको अमलेखगञ्ज डिपोमा आइपुगेको थियो ।

भिडियो कन्फेरेन्सबाट पाइपलाइन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै ती पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन समय अगावै सम्पन्न भएको भन्दै यो खुसीको विषय भएको बताउनुभयो ।

मोदीले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिपछि मूल्य घटाउने नेपाल सरकारको योजना नेपाली जनताको हितमा रहेको पनि उल्लेख गर्नुभयो । पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको भन्दै मोदीले यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दूमा पुगेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?