चिनियाँ विदेशमन्त्री वाङद्धारा देउवा र दाहालसँग भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान काँग्रेस सभापति देउवा र सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको हो । काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेताहरुसँग विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गर्नु भएको थियो । पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका काँग्रेस प्रतिनिधिमण्डलसँग गर्नु भएका उहाँले त्यसपछि सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गर्नु भएको थियो । चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ता उत्साहवद्र्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिनु भयो । उहाँले चिनियाँ विदेशमन्त्रीसँगको सो भेटपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा पनि नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नु भयो ।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गर्नु भएको थियो ।

आइतबार साँझ नेपालको ३ दिने औंपचारिक भ्रमणका लागि आउनु भएका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गर्नु भएको थियो भने समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गर्नु भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ मंगलबार अपरान्ह स्वदेश फर्कनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?