मलेसिया रोजगारीः प्राविधिक टोलीको २ दिने संयुक्त बैठक निष्कर्षविहीन, पुनः बैठक बस्ने

काठमाडौं । नेपाली कामदार मलेसियामा आपूर्ति गर्ने सम्बन्धमा नेपाली तथा मलेसियाली प्राविधिक टोलीबीच दुई दिनसम्मच चलेको छलफल कुनै निष्कर्षविहीन बनेको छ । मंगलबार र बुधबार मलेसियामा बसेको दुई देशका प्राविधिक कमिटिको बैठकले मलेसिया र नेपालबीच कामदार भर्ना प्रक्रियाबारे बाँकी काम टुंगो लगाउन नसेकेको हो ।

दुई दिनका लागि भनिएको बैठकमा नेपाली कामदार भर्ना प्रक्रियाका विषयमा टुंगो लाग्न नसकेपछि बिहिबार पुनः बैठक बस्ने भएको वैठकमा सहभागी एक अधिकारीले जानकारी दिनुभयो ।

कामदारमाथि अत्यधिक आर्थिक भार थपिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गर्ने निर्णय गराउनुभएको थियो । बन्द भएको मलेसिया रोजगारी १५ महिना बितिसक्दा पनि खुल्न सकेको छैन । यस्तै, गत वर्ष कात्तिक १२ गते मलेसिया र नेपाल सरकारबीच शून्य लागतमा कामदार पठाउने गरी श्रम समझदारी भइसकेपछि पनि समझदारी अनुसार नेपाली कामदार मलेसिया जान पाएका छैनन् ।

नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठकको मुख्य एजेन्डा मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नयाँ स्वास्थ्य संस्था थप गर्ने रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?