अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

एजेन्सी । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ ।

जापानको निक्की २२५ मा १ दशमलव १ प्रतिशतले वृद्धि भई २१,९८९ दशमलव २९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ० दशमलव ६ प्रतिशत वृद्धि भई २७,२६२ दशमलव ८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९ दशमलव २० विन्दुमा पुगेको छ ।

शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२ दशमलव ८१ विन्दुमा रहेको छ । सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा वृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ ।

अमेरिका र चीनबीच वार्ता हुने खबर सार्वजनिक भएलगत्तै गएराति वालस्ट्रिटको शेयर बजार बढेको थियो । अमेरिकाले चीनबाट आयात हुने सामानमा दुई साता अर्थात अक्टोबर १५ सम्म करवृद्धिमा ढिलाई गर्ने घोषणा गरेको थियो । तर विगतमा प्रयोगमा आइसकेका करहरु भने यथावत रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?