काठमाडौंको गोलढुंगामा गोली चल्यो, यसो भन्छ प्रहरी !

काठमाडौं । काठमाडौंको गोलढुंगामा प्रहरीले गोली चलाएर गुण्डागर्दीमा संलग्न रहेका साजन गुरुङलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरीलाई कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका उनलाई ट्रमा सेन्टरमा ल्याइएको छ ।
गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेपछि उनी प्रहरीको खोजी सूचीमा रहेका थिए ।
यसैबीच, साजन गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?