काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवन राम श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
शनिबार भएको विशेष साधारणसभामा प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई ७ भोटले पछि पार्दै जीवनराम निर्वाचित हुनुभएको हो ।
जीवनरामले १७ भोट ल्याउदा उमेशलालले १० भोट प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन्। उनीहरुले क्रमशः २६, २२, २०, १८ र १५ मत प्राप्त गरे। यस्तै समिम मियाँ अन्सारीले १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले ११/११ मत ल्याए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी संवैधानिक मर्मविपरीत उपाध्यक्षको प्रत्याशी बनेका थिए। ५ उपाध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दिएका थिए।
महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन्। उनले १५ मत प्राप्त गरे। उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे। निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन् ।
एथलेटिक्स संघबाट प्रतिनिधि बनेका राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना उपमहासचिव र भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै सचिव पदमा दीपकहर्ष बज्राचार्य, तुलसा थापा, रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। नेपाल उसु फेडेरेसनका अध्यक्ष तथा निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट भने पराजित भएका छन्। बज्राचार्यले २५, थापाले २१, श्रेष्ठले १८ र विष्टले १७ मत पाएका थिए। १ मतले विष्ट पराजित भएका हुन्। संघीय सांसद समेत रहेकी थापा नेपाल कबड्डी संघकी अध्यक्ष हुन्। उनी नेकपा उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि हुन् ।
यस्तै सदस्यहरुमा रमेश सिवाकोटी, राम अवाले, प्रकाशशम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्घबहादुर केसी निर्वाचित भएका छन्। मनोरञ्जन रमण शर्मा भने पराजित हुन पुगेका छन्। ७ जनाको सिटमा ८ जनाको उम्मेदवारी परेको थियो।
एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका २७ प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गरेका थिए। रोचक पक्ष के रह्यो भने यसपालिको चुनावमा २७ मतदातामध्ये २६ जना उम्मेदवार बनेका थिए । दुई कार्यकाल अध्यक्ष भइसकेका जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबै उम्मेदवार बनेका थिए ।
अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए।
नेपाली ओलम्पिक इतिहासमै प्यानलसहितको चुनावी प्रतिस्पर्धा पहिलोपल्ट भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया