काठमाडौं, २२ पुस । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानमा रहेको कमजोरीका कारण सत्ता हस्तान्तरणमा ढिलाइ भएको बताएका छन् ।समाजवादी विद्यार्थी फोरमले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि सत्ता हस्तान्तरण नहुनु विडम्बना हो भन्दै तीन ठूला दलले उत्कृष्ट संविधान बनाएको भने पनि अहिले उनीहरू त्यही संविधानको बन्दी हुनुपरेको टिप्पणी गरे । सहअध्यक्ष श्रेष्ठले भने, “एमाले अध्यक्ष केपी ओली अहिले संविधानको बन्दी बन्नुभएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसक्दा पनि सत्ता हस्तान्तरण गर्ने आधार बनिसकेको छैन । प्रधानमन्त्रीले राजीनामा गरे पनि अहिले ओलीको सत्तारोहण हुन सक्दैन । त्यसका लागि पहिला उनी संविधान बमोजिम आफ्नो पार्टीको सङ्घीय संसदीय दलको नेता हुनुपर्छ, त्यसका लागि राष्ट्रियसभाको निर्वाचन हुनैपर्छ । संविधानकै कमजोरीले यो अवस्था आएको हो ।” समाजवादी विद्यार्थी फोरम नेपालले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने ‘जबर्जस्ती जारी गरिएको संविधानलाई काङ्ग्रेस, एमाले र माओवादीद्वारा विश्वकै उत्कृष्ट भनेर हल्ला गरे पनि यसले मुलुकलाई अगाडी बढाउन सक्दैन ।’ उनले अघि थपे, ‘यस्ता संविधान र कानुनहरू कसले लेखेका छन् ? तिनै दलका नेताहरूले ।उक्त पार्टी प्रवेश कार्यक्रममा राप्रपा प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष श्याम यादवको नेतृत्वमा काङ्ग्रेस, एमालेसहितका दलबाट दुईसयभन्दा बढी विद्यार्थी तथा युवाहरू फोरम प्रवेश गरेका छन् । कार्यक्रममा केशव विक्रम खड्का, विवेक वैश्य, अभिनाश यादव, शेषअलि रेन, सुरेश ठाकुर, शत्रुधन यादव, प्रभाकर मण्डल, सौजन कार्की लगायत सयौंले समाजवादी विद्यार्थी फोरमको सदस्यता ग्रहण गरेका छन् । नवप्रवेश युवा तथा विद्यार्थीहरूलाई सङ्घीय फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अबीर लगाएर स्वागत गरेका छन् । समाजवादी विद्यार्थी फोरम केन्द्रीय कार्यालयले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा ससफो नेपालका प्रदेशसभामा प्रत्यक्ष निर्वा्चित सांसद जयराम यादव, सङ्घीय खेलकुद महासङ्घका उपाध्यक्ष आशमान तामाङ, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राई लगायतले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया