सोमवारदेखि पेट्रोलजन्य इन्धनको मुल्य बढ्न सक्ने, यस्तो छ कारण

काठमाडौं । सोमवार देखि बजारमा पेट्रोलजन्य इन्धनको मुल्य बढ्न सक्ने देखिएको छ । शनिबार साउदी अरबका दुई वटा तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा ड्रोन आक्रमण भएपछि विश्व बजारमा तेलको मुल्य बढ्ने देखिएको हो । साउदीले दैनिक झन्डै एक करोड ब्यारेल कच्चा तेल उत्पादन गर्ने साथै विश्वबजारको झन्डै १० प्रतिशत कच्चा तेल उत्पादन गर्दै आएको छ ।

१० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको छ । आक्रमणपछि ती दुई प्लान्टमा आगो लाग्नुका साथै काम समेत रोकिएको छ । यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको उक्त ड्रोन आक्रमणपछि संसारको सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्येको एक साउदी अरबले आफ्नो उत्पादन आधा घटाएको छ ।

साउदीका उर्जामन्त्री राजकुमार अब्दुलाजिज बिन सलमानले अब दैनिक ५७ लाख ब्यारेलमात्र कच्चा तेल उत्पादन हुने जानकारी दिएका छन् ।

अरब क्षेत्रमा शनिबार भएको उक्त आक्रमणपछि तेलको मूल्य मात्र होइन तनाव पनि बढाइदिएको छ । अराम्कोका सिइओ अमिन नसिरले कम्पनीले जतिसक्यो चाँडै तेल पुनर्उत्पादन गर्ने बताएका छन् । बेलायती प्रसारण संस्था बीबीसीले साउदीले यसअघिको भन्दा आधामात्र तेल उत्पादन गर्ने भएपछि सोमबारदेखि विश्वबजारमा तेलको मूल्य बढ्ने सम्भावना रहेको बिश्लेषण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?