सभामुख महराद्वारा सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराउनु भएको छ ।

सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पार्नु भयो । संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनि राख्नु भएको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भिर ध्यानाकर्षण पनि गराउनु भयो ।

‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ,’ सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पार्नु भयो, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौंन त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो ।’ सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण उहासँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टिकरण दिनु भयो । उहाँले संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन , निर्देशिका निर्माण भए÷नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई कडा निर्देशन दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?