सत्तापक्ष सांसदले सहमति भाँडेपछि कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् ।

बाँके घनालाई लिएर खजुरा गाउपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल विरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै कांग्रेस संसद संचालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफुहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भांडिएको छ । बांके घटनालाई लिएर खजुरा गाउपालिका वडानम्बर १ का अध्यक्षलाई मुद्धा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेस सांसदहरु उभिईरहेकै समयमा सांसद रोकाले बांके घटनामा नेपाली कांग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडाअध्यक्षलाई मुद्धा चलाए आफुहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो ।

सांसद रोकाले भन्नुभयो “कसैले पनि त्यहा हातपात गरेको छैन । कुनै पनि केही घटना घटेको छैन । त्यहाँ कसैले कसैलाई छोएकै छैन । त्यसै आक्षेप लगाएर हुदैन । तर वडा अध्यक्ष वेकसुर छ । त्यो वडा अध्यक्षलाई मुद्धा लगाउने भन्ने कुरा कतै पनि सहन सक्दैनौ । यदि नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामीले पनि आन्दोलन गर्छौ । आन्दोलन किन नगर्ने ? हामी सत्य कुरा मात्रै स्वीकारर्छौ । असत्य कुरा कुनै पनि हालतमा स्वीकार गर्दैनौ । समिति गठन गरेर छानविन गर्नुपर्छ । जो दोषी छ कारवाही गरौ । समिति गठन विना हुन सक्दैन । समिति गठन गरेर छानविन गर्नुपर्छ । ”

सांसद रोकाको अभिव्यक्ति पछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरि नाराबाजी गरेका हुन् । कांग्रेस सांसदहरुले “संसदमा निश्पक्षता कायम गर , दोषीलाई कारवाही गर । राज्य आतंक बन्द गर । ” भन्दै झण्डै आधाघण्टा नाराजाबी गरेका थिए । नाराबाजी जारी रहेपछि सभामुख कृष्ण बहादुर महराले आगामी असोज १ गते विहान ११ बजे सम्मका लागि स्थगित गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?