कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

appharu
0
Shares

सुर्खेत- कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काङ्गे्रसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ ।

विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु पारित गर्नुपूर्व सभासमक्ष राखेका प्रतिबद्वता पूरा नगरेको भन्दै काङ्गे्रसले बैठक अवरुद्व गरेको हो । चालू अधिवेशनको २२ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले विभिन्न मन्त्रालयको चालू खर्च घटाउने, मुख्यमन्त्री कार्यालयको बजेट घटाएर जनता सडक कार्यक्रमलगायतमा बजेट समायोजन गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो ।

प्रतिपक्षीका साथै सत्तारुढ प्रदेशसभा सदस्यले ती प्रावधानलाई विधेयकका अभिन्न अङ्ग नबनाएसम्म बजेट पारित नगर्ने चेतावनी दिएपछि मन्त्री ज्वालाले बजेट संशोधनको घोषणा गर्नुभएको थियो ।

प्रदेशसभाको आजको बैठकमा विपक्षी दलका नेता जीवनबहादुर शाहीले अर्थमन्त्रीले सभालाई छलेर विधेयक अघि बढाएकाले राजीनामा माग्नुपरेको बताउनुभयो । “अर्थमन्त्रीबाट सभाको मर्यादाको उल्लङ्घन भयो, सभालाई झूठो विवरण बुझाउने काम भयो,” उहाँले भन्नुभयो, “मन्त्रीले राजीनामा नदिँदासम्म सभा अगाडि बढ्न सक्दैन, हामी सधँै सरकारको झूठो कुरा सुनेर बस्न सक्दैनौँ ।”

प्रतिपक्षी दल काङ्गे्रसका नेता शाहीले बोलेलगत्तै बैठक अवरुद्व भएको थियो । काङ्गे्रस सदस्यले सिटबाट उठेर बैठकमा अवरोध जनाएका थिए । चालिस सदस्यीय प्रदेशसभामा काङ्गे्रसका ६ सदस्य छन् । काङ्गे्रसको अवरोध कायमै रहेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?