गोदावरीमा सिसि क्यामेरा जडान गरिने

काठमाडौं । गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य-मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

“आउँदो मङ्सिर-पुसबाट गोदावरीको व्यस्त स्थानमा क्यामेरा जडानको काम शुरु गर्नेछाँै”, उहाँले भन्नुभयो, “नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काममा तीव्रता दिन लागेका हौँ ।”

गोदावरीको सुरक्षा व्यवस्था चुस्तदुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने विश्वास उहाँको छ । गोदावरीमा सिसी क्यामेरा जडान गरेसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?