गृहमन्त्रीका भाइ धरौटीमा रिहा, बाँकी जेल चलान !

काठमाडौं – काठमाडौं जिल्ला अदालतले जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहस सकिएपछि थापालाई बुधबार एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो। शक्तिको आडमा व्यवसायि धम्क्याउदै पैसा उठाउँदै आएका थापासँगै अन्य ५ जना (स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ ) परेका थिए । प्रहरी जवान भट्टराईले जेलमा रहेका गुन्डा नाइके बस्नेतलाई पटकपटक फोन गर्नका लागि आफ्नो मोबाइल दिएको आरोप लागेको थियो।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका उनले जेलमा बसकै बेला आफ्ना आसेपासे प्रयोग गरेर धम्क्याउँदै रकम असुल्ने धन्दा लागेको प्रहरीले जनाएको छ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो  ? 

गृहमन्त्रीका साइँला भाइ पक्राउ

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?