खसी बोकामा नेपाल आत्मनिर्भर, दशैंमा भारतबाट आयात नगर्ने !

काठमाडाैं । भारतबाट आउने खसी बोकामा सरकारले बन्देज लगाएको छ । बन्देज लगाएसँगै नेपालमा मासुको अभाव हुने आशंका देखिएको थियो । तर भारतबाट खसी बोका नआएपनि स्वदेशी उत्पादनले नै पुग्ने पाइएको व्यबसायीहरुले बताएका छन । साथै मुल्यपनि त्यति धेरै नबढ्ने पनि अनुमान गरिएको छ ।

आर्थिक वर्ष ०७५ /७६ मा २ अर्ब ६५ करोड १८ लाख ८५ हजार मूल्य बराबरको ३१ करोड ६० लाख ४९ हजार वटा खसी-बोका आयात भएका थिए ।उक्त आवको सुरुवाती तीन महिनामै १६ करोड ६० हजारवटा जिउँदा खसी-बोका भारतबाट नेपाल भित्रिएका थिए ।

दशैं लाग्दै गर्दा भारतबाट वर्षेनी ठुलो मात्रामा खसीबोका भित्रिने गरेको थियो । तर अहिले कतैबाट आयात नगरेपनि नेपाली उत्पादनले नै पुग्ने व्यबसायीहरुको अनुमान रहेको छ । साथै यसरी ठुलो मात्रामा आयात हुँदा राज्यको करोडौ रुपैयाँ बाहिरिने गरेको थियो ।

दुई वर्ष अगाडिको दशैमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य प्रतिकिलो ९ सय थियो । गतवर्ष दशैंमा एक हजार रुपैयाँ पुग्यो ।

यस वर्ष दशैंको मुखैमा खसीको मासु प्रतिकिलो साढे ११ सयदेखि १२ सयमा बिक्री भइरहेको छ । साउनको तुलनामा अहिले खसीको मासु एक सय रुपैयाँ सस्तो भएको संघका अध्यक्ष रमेश खड्गी बताउँनुहुन्छ ।

मासुको न्यूनतम वा अधिकतम मूल्य कति हुने भन्ने सरकारी मापदण्ड नहुँदा मासुको मूल्य व्यापारी आफैले तोक्ने गरेका छन् । नेपाल माछा मासु व्यवसायी संघका अध्यक्ष खड्गीका अनुसार मासु व्यवसाय परम्परागत ढंगले चलेको छ ।

पशु क्वारेन्टाईन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसी–बोका भित्रिन दिने नीति सरकारले लिएको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसी–बोका नेपाल भित्रिन नसकेका हुन् । अहिले भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याएका खसीबोका भन्सार पास हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?