दशैंमा रकम संकलन गर्नका लागी लगानीकर्ताले शेयर बिक्री गर्न थाले

काठमाडौं । दशैं नजिकिएसँगै लगानीकर्ताहरुले बजारमा शेयर बेच्न थालेका छन् । दशैंका लागी रकम जोहो गर्नको लागी भन्दै सेयर बिक्री गरेको पाईएको छ । यससँगै सेयर बजार पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.४२ अङ्कले घटेर ११३४.५६ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४० अङ्कले घटेर २४८.४१ अंकमा ओर्लिएको छ।

चाडबाडमा लगानीकर्ताले रकमको जोहो गर्न थालेपछि शेयर बजारमा असर देखिएको इन्भेष्टर फोरममा उपाध्यक्ष तुलसीराम ढकालले बताउनुभयाे।

”चाडबाड नजिकिँदै गर्दा लगानीकर्ताले रकम जोहो गर्न थाल्छन्,त्यसोलागि लगानीकर्ताले शेयर बिक्री गर्ने गरेका छन्। यसैको असर बजारमा देखिन थालेको छ” , ढकाल बताउनुहुन्छ । लगानीकर्तालाई व्याजको दबाब पर्दा समेत शेयर बजार घट्न थालेको उहाँको भनाई छ।

त्रैमासिक व्याजको दबाब समेत लगानीकर्तालाई पर्न थालेका कारण बजार घटेको हो।

१७१ कम्पनीका ८ लाख ७३ हजार कित्ता शेयर २१ करोड ८२ लाख रुपैयाँमा मङ्गलबार कारोबार भयो। कारोबारमा उल्लेख्य प्रगती नभएपनि सोमबारको तुलनामा कारोबार रकम बढेको हो। सोमबार १८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। लगानीकर्ताले यतिबेला शेयर बिक्री गर्नै पर्ने बाध्यता हुने र किन्ने दाउमा रहेका लगानीकर्ताले जतिसक्दो कम मूल्यमा शेयर किन्ने दाउमा रहँदा शेयर कारोबार घटेको ढकालले बताउनुभयो ।

मङ्गलबार सबैभन्दा बढी सानिमा बैंकको तीन करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको संस्थापक शेयरको दोस्रो बढी कारोबार भयो। उसको मात्रै तीन करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?