काठमाडौं । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ठूलो मात्राको रकम लुटिएको छ । बैंककै कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरी ठुलो रकम निकालिएको हो ।
तर, कति रकम लुटियो भन्नेबारे यकिन हुन नसक्दा अनुसन्धानका लागि असहज भएको छ । रकमको परिमाण कतै डेढ करोड त कतै ४ देखि ५ करोड रुपैयाँसम्म रहेको विभिन्न स्रोतबाट आएइरहेको छ ।
बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट यसबारे जानकारी लिँदा लुटिएको रकम ५० लाख रुपैयाँ रहेको खुलेको छ । कृषि विकास बैंकले नेपाल राष्ट्र बैंकलाई पठाएको औपचारिक पत्रमा ५० लाख रुपैयाँमात्र लुटिएको बताइएको छ । तर, सञ्चारमाध्यममा भने डेढ करोड त कतै ४–५ करोडसम्म छापिएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार रकम लुटकाण्डमा कर्मचारीको नै मिलेमतो भएको आशंका गरिएको छ । बैंकको लाहान शाखाका कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरेर त्यही कम्प्युटर वा अन्य कम्प्युटरबाट गरेजस्तो देखिने गरी रकम ट्रान्स्फर भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले पनि सिस्टम ह्याक गरेर भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी अन्तैबाट रकम ट्रान्स्फर गरिएको आशंका गरेको छ ।
यसैबीच रकम निकालेको आशंकामा प्रहरीले ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानी सहित अन्य विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् । यसैगरी कैलालीको भजनीका विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट बैंकबाट चोरी गरेको करिव ६० लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया