प्रदेशमा लगानी भित्राउन संघीय कानून बाधक : मुख्यमन्त्री राउत

बुटवल । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले बनाएका कानूनहरु झन्झटिलो र लगानीमैत्री नभएको गुनासो गर्नुभएको छ । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई बिहीबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने जिकिर गर्नुभयो ।

‘स्थानीय, प्रदेश र संघीय सरकारबीच कानून निर्माण र सोंचमा एकरुपता हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा मुख्यमन्त्री राउतले स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएकोप्रति आधार प्रकट गर्नुभयो ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांण र रुपन्देही क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल–भारत सीमा नाका, देशको मध्यभाग, ६ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पूर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे ।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको छ । करिब ५० अर्ब लगानी भित्राउने लक्ष्यसहित २२ परियोजना अघि सारिएको सम्मेलनमा नेपालका साथै भारत, चीनसहितका विदेशी मुलुकबाट समेत करिब ५ सय जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?