‘मेड इन नेपाल एक्स्पो २०७६’ ललितपुरमा आजबाट शुरु हुँदै

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ हुन लागेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।

सन् २००६देखि मञ्चले निरन्तर यस्तो मेला आयोजना गर्दै आईरहेको छ । ”आफ्नो भन्या आफ्नै हो” भन्ने नाराका साथ आयोजना हुन गईरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने मञ्चले जनाएको छ ।

मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रबर्द्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताउनुभयो।

साथै यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ । त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सृजनामा सहयोग पुर्‍याउने अध्यक्ष पाण्डेले बताउनुभयो । साना व्यवसायीलाई प्रबर्द्धन गर्न करिब १२ जना उद्यमीलाई निःशूल्क स्टलको व्यवस्था समेत गरिएको पाण्डेले बताउनुभयो ।

विशेषगरि मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठुला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ । दुई दिन चल्ने एक्स्पोमा २० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ ।

निःशूल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्था समेत गरिएको मञ्चले जनाएको छ । प्रत्येक नेपालीले आफ्नो देशको आर्थिक विकासका लागि आफ्नै देशका सामान र सेवाको प्रयोग गर्ने र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान स्थापित गर्न सके देशको आर्थिक अवस्था सुदृढ तथा सवल हुने विश्वास मञ्चको छ । नेपाली उत्पादन राम्रो र हाम्रो पनि छ भनेर चिनाउन मेलामा आयोजना गरिएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?