काठमाडौं– अमेरिकाले इण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई इण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको स्पष्ट पारेको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई इण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको स्पष्ट पारेका हुन् ।
इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले राजधानीमा गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले अमेरिकाले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहेको बताए ।
उनले भने,‘नेपाल प्रो नेपालीकै पक्षमा रहेको हामीले हेर्न चाहेका छौँ । हामी संसारका अन्य कुनैपनि देशजस्तो हैनौँ, स्वतन्त्र सार्वभौम मुलुकले आफ्नो देशको नीति आफै निर्धारण गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’
अमेरिकाले कुनै पनि सार्वभौम मुलुकको सार्वभौमिकतामाथि दबाब दिने काम नगर्ने भन्दै अन्य देशले समेत हस्तक्षेप गरेको हेर्न नचाहने उनले बताए ।
नेपाल बलियो हुँदा अमेरिका समेत बलियो हुने र अमेरिका बलियो हुँदा नेपाल बलियो हुने विश्वासमा अमेरिका रहेको उनको भनाइ थियो । उनले नेपालको सार्वभौमिकता बलियो हुनुपर्ने धारणा समेत सो क्रममा राखे ।
उनले इण्डोप्यासिफिक रणनीतिको साझेदार बन्न नेपाल लगायत संसारका अन्य देशहरुलाई समेत अमेरिकाले दबाब वा प्रभाव केही पनि नदिने स्पष्ट पारे । चीनले बीआरआईमा सहभागी हुन नेपाललाई दिएको दबाबजस्तै अमेरिकाले इण्डोप्यासिफिक रणनीतिको साझेदार बन्न कसैलाई दबाब नदिने उनको भनाइ थियो ।
नेपाल अमेरिकाको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउँदै राजदूत बेरीले नेपाललाई हरेक वर्ष अमेरिकाले सहयोग गरिरहेको समेत बताए ।
कार्यक्रममा राजदूत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको बताउँदै त्यसलाई समेत प्रभावकारी बनाउन अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया