२ सय प्रतिशतसम्म बढ्यो हरियो तरकारीको मुल्य

काठमाडौं । दशैं नजिकिएसँगै हिजो आज बजारमा तरकारीको मुल्य अत्याधिक बढेको छ । एक सातामा तरकारीको मूल्य २ सय प्रतिशतसम्म बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले जनाएको छ । असोज ४ गते ६५ रुपैयाँमा विक्री गरिएको पालुङ्गोको साग आज १ सय ९३ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य ४ गतेको भन्दा २ सय प्रतिशत बढी हो ।

झरीको प्रभाव र भारतबाट आउँने तरकरीको दुवानी समस्यालाई नै मूल्य वृद्धि हुनुको मुख्य कारण मानिएको छ । हरियो धनियाँको मूल्य पनि १ सय ४१ प्रतिशतले वृद्धि भएको छ । ४ गते प्रतिकेजी २ सय ५ रुपैयाँमा विक्री भएको धनियाँ आज प्रतिकेजी ४ सय ९५ रुपैयाँमा कारोबार भईरहेको कालिमाटी फलफूल बजारले जनाएको छ ।

भेडे खुर्सानी , हरियो खोर्सानी, हाईब्रिड काँक्रो, गान्टे मुला, स्याउँ, तोरीको साग, मकै बोडी, घिउ सिमी जस्ता तरकारीहरुको मुल्य अत्याधिक मात्रामा बढेको पाइएको छ । यी तरकारीहरुको गत साताको शनिबार भन्दा ४० देखि एक सय प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।

त्यस्तै प्याजको मुल्य भने भदौ लागेसी बढेको छ । भदौसम्म प्रतिकेजी प्याजको मुल्य ४० रुपैयाँ हाराहारीमा रहेको थियो भने अहिले ९५ रुपैयाँ पुगेको पाइएको छ ।

बजारमा यसरी अत्याधिक बढेको तरकारीको मुल्यका कारण सर्वसाधारणहरु मर्कामा परेको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?