बनेपा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैँसंग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आज यहाँ आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उहाँले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताउनुभयो ।
“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भन्नुभयो, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उहाँले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताउनुभयो । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।
काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भन्नुभयो ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद सुवेदीले सरकारले राहत शिक्षक र बालविकास केन्द्रमा अध्यापन गर्दै आएका शिक्षक÷शिक्षिकाको तलब वृद्धि गर्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले शिक्षकका समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया