बेलकोटगढी नगरपालिकामा प्रशारण लाइन निर्माणका लागी जग्गा अधिकरणको काम शुरु

काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा बिधुत प्रशारण लाइन निर्माण हुने भएको छ ।  ४०० केभी प्रशारण लाईन निर्माणका लागी सरकारले जग्गा अधिकरणको काम पनि शुरु गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजना निर्माणको लागि भन्दै आवश्यक पर्ने जग्गाको लागी साविक रातमाटे गाविसको वडा नं ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको छ । नगरपालिकाको वडा नं ७ मा निर्माणाधीन अवस्थामा रहेको आयोजना ४०० केभी क्षमताको हुने पनि जनाइएको छ ।

आयोजना निर्माणको लागी कानुनबमोजिम बेलकोटगढी नगरपालिका को वडा नं ७ (साविक रातमाटे गाविस वडा नं ६ र ९) को जग्गा अधिग्रहण प्रक्रिया थालेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

सडक योजना र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्जसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । साथै उक्त परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।

यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ । साथै विभिन्न स्थानमा सब–स्टेशन पनि बनाइने छ । यो प्रसारण लाइन नेपाललाई यहाँ उत्पादित जलविद्युत् भारतलगायतका देशमा निर्यातको मार्ग दिनेछ । आयातमा पनि यसले बाटो खोल्ने पनि अनुमान गरिएको छ ।

यही योजनाअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवाकोटमा प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

साथै विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै प्रसारण लाइन निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?