महरामाथि अब छानबिन नहुने

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अब छानबिन नचल्ने सम्भावना बढेको छ । पीडित भनिएकी महिलाले नै आफूमाथि कुनै दुर्व्यवहार नभएको बताएपछि महरा छानबिनबाट जोगिने भएका हुन् ।

महिलाको उजुरीको प्रतिक्षामा रहेको प्रहरीले उनले उल्टै बाहिर आएको समाचारको सत्यता नभएको दाबीसहित निवेदन दिएपछि अब यो प्रकरण त्यत्तिकै सेलाउने देखिएको हो । ‘प्रहरीले यसविषयमा आन्तरिक अनुसन्धान समेत थालिसकेको भएपनि पीडित भनिएकी महिलाले नै बोलिसकेपछि अब अनुसन्धान गर्न असहज देखिएको छ’ एक प्रहरी अधिकारीले भने ।
महिलाले निवर्तनमा सभामुख कृष्णबहादुर महरा निर्दोष भएको दाबी गर्दै महानगरीय प्रहरी बृत्त बानेश्वरमा बुधबार निवेदन गराएकी थिइन् ।
सुरुमा आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेकी उनले पछि फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेकी थिइन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । निवेदनमा उनले आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेकी छिन् । यस्तै उनले गलत समाचार कसरी बाहिरियो भन्नेबारे थाहा नभएको समेत दाबी गरेकी छिन् ।

हाम्रा कुरा नामको अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।
महिलाले आरोप लगाएपछि महरा भने पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?