एसिड आक्रमण पिडीत मुस्कानलाई अमिताभ बच्चनको भिडियो सन्देश

काठमाण्डौं । एसिड आक्रमणबाट घाईतेभई कीर्तिपुर अस्पतालमा उपचाररत १५ वर्षकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाउनुभएको छ ।

पिडीत मुस्कानको हौसला बढाउनको लागि बलिउड अभिनेता बच्चनले भिडियो सन्देश पठाउनुभएको हो । अमिताभले, ‘मलाई तपाईँको बारेमा उत्तराखण्डको नैनीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेको मित्र उज्ज्वल थापाले बताउनुभयो । तपाईँप्रति जे भयो, त्यो निकै दर्दनाक छ । यो कुरा सुनेर म निकै दुःखी भएँ ।’

अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गर्नुभएको छ । ‘जे घटना तपाईँमाथि घट्यो, त्यो अरु कसैसँग नघटोस् । तपाईँ नाम जस्तै सधैँ हाँसिरहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उहाँले भन्नुभएको छ ।

साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानूनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिनुभएको छ । उहाँले मुस्कानको स्वास्थ्य लाभको कामना गर्नुभयो । यसअघि बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले पनि मुस्कानको स्वास्थ्य लाभको कामना गर्दै भिडियो सन्देश पठाउनुभएको थियो ।

त्यस्तै ’भ्वाइस अफ् नेपाल’ सिजन–२ का कोच राजु लामाले पनि मुस्कानसँग भेटेर सँगै गीत गाउँदै उहाँको हौसला बढाउने काम गर्नुभएको थियो । वीरगञ्ज महानगरपालिकाका–३ छपकैयाकी १५ वर्षीया मुस्कानलाई भदौ २० गते शुक्रबार विद्यालय जाँदै गर्दा एसिड प्रहार भएको थियो । तस्बिर उज्ज्वल थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?