अनिश बने दसौं लिगलिगे राजा, पुरस्कारसहित सद्भावना दूत घोषणा गरिने

काठमाडौं । पर्वतका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौथो पटक पनि लिगलिगे राजा बन्न सफल हुनुभएकाे छ। यसअघि पनि तीनपटक लिगलिगे राजा बनिसक्नु भएको छ । भारतीय सेनामा कार्यरत थापा चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै थापा लिगलिगे दौड जितेर प्रथम भइ लिगलिगे राजा बन्नुभएकाे हाे ।

त्यस्तै १ घण्टा एक मिनेट ८ सेकेण्डमा सोही दुरी पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल हुनुभएको छ । साथै एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका हुनुभएको छ । दोस्रो र तेस्रो हुने भाट र बस्नेत नेपाली सेनामा कार्यरत हुनुहुन्छ । त्यस्तै निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल हुनुभएको छ ।

त्यस्तै लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ। बिहीबार एक समारोहको आयोजना गरी दसौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो ।

कडेँलका अनुसार ‘दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो’ तर ‘यस बर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं। अबदेखि जो विजयी हुन्छ, उहाँलाई एक वर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइनेछ । नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उहाँलाई स–सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि उल्लेखनीय काम गर्ने पनि उहाँले बताउनुभयो ।

साथै प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर कँडेलले जानकारी दिनुभयो । र उहाँलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको उनले बताउनुभयो ।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा छैठौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?