उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुन सक्दैनः मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताउनुभएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताउनुभएको हो ।

कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले हामीले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । “स्याउ, सिमी लगायतका जे जे उत्पादन हुन्छन्, त्यसको उत्पादन वृद्धि गर्नुहोस्”, उहाँले भन्नुभयो,“हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छाँैं, पैसा पठाएको छौँ ।”

मुख्यमन्त्री शाहीले भन्नुभयो, “हाम्रो विगतको पुस्ता आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता हो, अहिले कोही आयो कि माग्ने काम मात्रै भयो ।”

मानिसमा सामाजिक सेवा भावना हराउँदै गएको र सामाजिक सेवाका नाममा व्यक्तिले फाइदा लिने प्रवृति हाबी हुँदै गएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?