चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छ: जनमोर्चा अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताउनुभएको छ । नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध बनाएको उल्लेख गर्नुभयो ।

उहाँले धर्मका नाममा विश्वमा ठूला युद्ध भए पनि नेपालमा त्यस्तो कहिलै नभएको भन्दै नेपालीको महान् पर्वले सबैलाई समृद्धिको बाटोमा लैजाने बताउनुभयो । “कहिलेकाहीँ नेपाली लोभ, मोहका कारण चिप्लिएका छन्”, नेता केसीले भन्नुभयो, “अन्तमा धर्मका कारणले गर्दा फुट हुन सक्दैनन्, त्यहीँ नै नेपालीको मुख्य विशेषता हो ।”

उहाँले भूमिगत समयको दशैँलाई स्मरणसमेत गर्नुभयो । उहाँले विजया दशमी नेपालीको मेलमिलापको चाड भएको हुँदा यसको महत्व अझैसम्म कायम रहेको उल्लेख गर्दै संसारको अगाडि हामी सबै नेपाली मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

“साना कुरामा नेपालीहरु झगडा गर्छन् तर धर्मका नाममा झगडा भएको सुनिँदैन, यो नै विश्वका लागि सकारात्मक सन्देश हो”, पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो । कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नरबहादुर थापा, नगरपालिकाका प्रमुख जनकराज पौडेल, विभिन्न राजनैतिक दल, समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?