दशैँ खानपिन : युरिक एसिडका बिरामीले छुँदै नछुनुस् यी खानेकुरा

काठमाडौँ – दशैँका वेला अरु समयभन्दा बढी चिल्लो, मसालेदार र मासुजन्य खानेकुराको सेवन गरिने भएकाले कुनै रोगबाट ग्रसीत व्यक्तिले यस्तो समयमा विशेष ध्यान पु¥याउन जरुरी छ । हाडजोर्नी विशेषज्ञ डा. इन्द्र नापितका अनुसार यसवेला खाइने खानेकुराले युरिक एसिड तथा अन्य हाडजोर्नीको समस्या भएका व्यक्तिहरुको स्वास्थ्यमा निकै असर पर्ने गर्दछ ।

युरिक एसिड (बाथरोग) का बिरामीले रातो मासु र हृवीस्की नछोऔँ
हाडजोर्नी विशेषज्ञ डा. इन्द्र नापित भन्नुहुन्छ, युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने ‘प्युरिन’ नामक एक किसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्छ ।
सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिर्गौलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारणले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिने गरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ ।
सुरु–सुरुमा जोर्नी सुन्निने, दुख्ने, तातो हुने, चलाउन गाह्रो हुने हुन्छ । जोर्नी पाकेको र युरिक एसिड भएको लक्षण एकै किसिमको हुन्छ । यस्तो हुँदा उपचार गरेर मात्रै युरिक एसिड भएको हो वा जोर्नी पाकेको हो भन्ने थाहा हुन्छ । उपचार गर्दा जोर्नीबाट पानी निकालिन्छ र चिकित्सकसँग सल्लाह मागी उपचार गर्दा बाथ हो कि होइन चिन्न सकिन्छ । यदि क्रिष्टल देखियो भने बाथ भएको हुन्छ ।
युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।

युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधिक हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । बाथ रोग भएकालहरुले दशैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ ।

उच्च प्रोटिनयुक्त खानाका कारण हुने भएकाले यो रोग लागेकाले उच्च प्रोटिनयुक्त खानेकुरा कम मात्रमा खानुपर्छ । उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछा–मासु, गेडागुडी तथा बढी मादक पदार्थ सेवन गर्नेहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । एकपटक यो रोगले च्यापेका मानिसलाई बढी प्रोटिनयुक्त खाना तथा मादक पदार्थ सेवन गरेको केही घन्टापछि एक्कासि मध्यरातमा जोर्नी तथा बूढीआँैलामा दुखाइ सुरु हुन्छ । त्यसकारण चिकित्सकहरूले यो रोग लागिसकेकालाई कम प्रोटिनयुक्त खाना खान र मादक पदार्थ सेवन नगर्न सुझाव दिने गरेका छन् । यो रोगबाट बच्न बियर, मादक पदार्थ, रातो मासु, प्रशस्त गेडागुडी खाँदा ध्यान दिनुपर्छ । यस्ता प्रोटिन बढी भएका खानेकुराले रगतमा युरिक एसिड बढाउन सक्ने भएकाले उच्च युरिक एसिड भएका बिरामीले ती खानामा नियन्त्रण गर्नु जरुरी छ । विशेषगरी रातोमासु, कलेजो, मिर्गौला, कुखुरा मासु, घिउ, अन्डा, मदिरा आदिमा नियन्त्रण गर्नुपर्छ ।
चाडवाडमा माछा, मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा पेटमा हुने असर कम गराउन सकिन्छ । क्याल्सियमयुक्त खानको सेवन बढाउनुपर्छ । केरा, आलु, दुध दही, स्ट्रबेरी र कागती आदिको सेवन फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?