करारका कर्मचारीले तलब पाएनन्

काठमाडौं | नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका करारका कर्मचारी आक्रोशित भएका छन् । केही महिनादेखि रोकिएको तलब बडादशैंँमा घर फर्कने बेलासम्म नगर प्रमुख वीरबल राईले निकासा गर्न नमानेपछि आक्रोशित बनेका हुन् ।
नगरपालिकाका करारतर्फका ११० कर्मचारीको गत साउन महिनादेखि तलबभत्ता रोकिएको छ । साउन र भदौको तलबले दशैंँ मनाउने आशामा रहेका कर्मचारीलाई राईले बढेको तलब र दशैँ भत्ता रद्द गरिदिएपछि रित्तै हात घर फर्कनुपर्ने चिन्ता थपिएको कर्मचारी मन्दीप राईले गुनासो गर्नुभयो । नगरपालिकाको लेखाफाँटले पनि सबै प्रक्रिया पु¥याएको र नगर प्रमुखको अन्तिम स्वीकृति मात्र बाँकी रहेको जनाएको छ । लेखाफाँटका कर्मचारी राजेश दाहालले भन्नुभयो “लेखाफाँटबाट हुनुपर्ने कामहरु सबै भइसकेको छ, कागजपत्र तयारी अवस्थामा छ तर मेयर राईले ‘मैले हुन्छ भने पछि मात्रै तलब दिनू’ भनेकाले तलब हाल्न नसकिएको हो ।”
प्रमुख राईले कर्मचारीको आफ्नो हाजिरीखातामा रातो मसी हालिएकाले तलब रोकिएको बताउनुभयो । रातोमसी लागेपछि तलब उपलब्ध गराउन नमिल्ने उहाँको भनाइ छ । गत साउन २६ गते नगरपालिकाको निर्णयविनै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले आफुखुशी नगरपालिकाका कर्मचारी समायोजन गरिएको सूचना टाँस्नुभएको थियो ।
यही असोज १३ अगावै समायोजन गरिएको स्थानमा कर्मचारी खटिनुपर्ने सूचना टाँसिए पनि केही दिनअघि सिन्धुली सरुवा हुनुभएका प्रशासकीय अधिकृत कोइरालाले आफू सरुवा हुनुपूर्व कर्मचारीको हाजिरीखातामा हाजिर गर्न प्रमाणित गरेको कर्मचारी दीपराज राईले बताउनुभयो ।
कार्यपालिकाले निर्णय नै नगरी कर्मचारी समायोजन गरेर विनापत्र कर्मचारी नखटिएकाले प्रमुखले रातो मसी लगाएर तलब रोक्नु कर्मचारीमाथि अन्याय भएको उपप्रमुख मेरिका राईले बताउनुभयो । उहाँले नियमित काममा खटिने नगरपालिकादेखि वडातहसम्मका कर्मचारीको तलब रोकिदिन नहुने बताउनुभयो । नगरपालिकाका जनप्रतिनिधि र स्थायी कर्मचारीले सेवासुविधा र तलब पाउँदा करारका कर्मचारीलाई समस्यामा पार्न नहुने उप–प्रमुख राईको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?