महरा प्रकरण : कसुर पुष्टि भए महरालाई यस्तो सजाय हुने

काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।

जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा रोशनी शाहीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा पुगेर जोहरी दिएपछि उनिबिरुद्द मुद्दा दर्ता भएको हो ।

प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । यदि महराले जबरजस्ती करणी उद्योग गरेको पुष्टि भए उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुनेछ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १५ करणीसम्बन्धी कसुरको दफा २२४ को उफदफा (१) मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु नहुने उल्लेख छ ।

उक्त दफा २२४ को उदफा (२) मा, “कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिने” उल्लेख छ ।

उक्त कसुर गरेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने उपदफा ३ मा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?