पीडित परिवार भन्छन्, ‘हामीलाई पैसा होइन, अपराधीलाई सजाय देउ’

जनकपुरधाम, २५ पुस । बेपत्ता परिवारका सदस्यले आफूहरुलाई पैसा नभई अपराधीलाई सजाय दिई न्याय चाहिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित छलफल कार्यक्रममा उनीहरूले भने, ‘आयोगहरूले घाउलाई कोट्याउने काम मात्र गरिरहेका छन् ।’ मुलुकमा गणतन्त्रको स्थापना भइसकेका अवस्थामा पनि गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने र बेपत्ता रहेकाहरूका बारेमा कुनै पहल गम्भीर रूपले नहुनु दुःखद भएको उनीहरुको भनाई थियो । उनीहरुले भने, ‘राहत छैन, राहत पाउन कहाँ जाऔँ, सम्पूर्ण कागजात बुझाइयो तापनि छानविनको प्रक्रिया शुरू भएन, पीडितका सन्तान पढाइबाट वञ्चित हुनु परिरहेको छ ।’ द्वन्द्वपीडित उदयकुमार साहले बुबा बेपत्ता भएको वर्षौंं भई अवस्था हाल पनि अज्ञात रहेको तर आयोगको मौनताले आफूहरू बिचल्लीमा परेको बताए । पीडित पदम पौडेलले जीवन धान्न कठिन रहेकाले रोई बस्नुबाहेक आफ्नो केही छैन भन्दै न्याय कहिले, कहाँ पाउने भनी प्रश्न गरे । अर्का पीडित देवेन्द्र यादवले पीडितको मानसिक, शारीरिक र आर्थिक अवस्थासँग आयोगले खेलबाड गरिरहेको आरोप लगाए । सञ्चारकर्मी रवीन्द्र उप्रेतीले आफूले सम्पूर्ण कागजात सम्बन्धित निकायमा बुझाए पनि पीडालाई बुझ्ने कुनै पहल नभएको गुनासो गरे । बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बेपत्ता परिवारको राहतका बारेमा स्पष्टताका लागि ऐन निर्माणको पहल भइरहेको जानकारी दिए । राष्ट्रिय मानवाधिकार आयोगका सदस्य सुदीप पाठकले सबै मिलेर पीडितलाई न्याय दिलाउन अग्रसर हुनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?