२० छोराछोरीकी एक्ली आमा अर्थात् ‘कमला’

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ २० छोराछोरीकी एक्ली आमा भन्दा । अचम्म नमान्नुस् स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं १ की ३४ वर्षीया कमला पराजुली २० छोराछोरीको भविष्य कसरी सुन्दर बनाउन सकिन्छ भनेर लागिपर्नु भएको छ ।

अमोर सेवा नेपाल नामक संस्थाको स्थापना गरेर बाबुआमा गुमाएका बेसहारा बालबालिकाहरुलाई आफ्नै छोराछोरी बनाएर पालनपोषणमा लाग्नुभएकी कमलालाई छोराछोरीको उमेर बढेसँगै उनीहरुको चिन्ताले झनै सताउन लागेको छ । विस २०६८ सालमा अनाथ बालबालिकालाई पालनपोषण गर्ने उद्देश्यले अमोर सेवा नेपाल नामको बालगृह स्थापना गरेर तिनै बालबालिकाको सेवामा लागिरहनुभएको छ ।

कमलालाई बालगृहमा रहेका सबै बालबालिकाले ममी (आमा) भन्ने गर्दछन् भने उहाँले पनि छोराछोरी नै भनेर सम्बोधन गर्ने गर्नुहुन्छ ।

शुरुमा ११ जना बालबालिका रहेकामा अहिले बालबालिकाको सङ्ख्या २० पुगेको छ । उनीहरुमा ५ देखि १७ वर्ष सम्मका १५ जना बालक र ५ जना बालिका छन् । उनीहरु विद्यालयको समयमा पढ्न विद्यालयमा जान्छन् भने बिहान बेलुकीको समयमा बालगृहमा बसेर लेखपढ गर्छन्, खेल्छन्, टिभी हेर्छन् ।

बालगृहमा रहेका बालबालिकाको उमेर बढेकाले व्यवस्थापनमा थपिएको जिम्मेवारीले कहिलेकाहीँ उहाँलाई चिन्तित बनाउँछ । यद्यपि ठूला भएकाहरुले स–साना भाइबहिनीहरुलाई हेरचाह गर्ने भएकाले पनि केही सहयोग पुगेको कमला स्वयं बताउनुहुन्छ ।

बेसहारा बालबालिकाको सहारा बन्ने हुटहुटीले संस्था खोलेकी उहाँले संस्था दर्ताको लागि सदस्य जुटाउने क्रममा भोग्नुपरेको समस्या अहिले पनि उहाँको मनमा ताजै छ । उहाँले भन्नुभयो – “मैले आमाबाबु गुमाएका बालबालिकाहरुलाई आमा बनेर हेरचाह गर्न चाहन्छु भन्दा हासोको पात्र बनाएर मेरो कुरामा कसैले विश्वास गर्नुभएन । अहिले उहाँहरु नै सहयोग गर्नुहुन्छ ।” एउटी सामान्य युवतीले आमाबाबु नभएका बालबालिकाको सेवा गरेर बस्छु भन्दा विश्वास गर्न पनि गा¥हो हुने नै भयो तर, दृढ इच्छा शक्ति भयो भने असम्भव चाहीँ होइन रहेछ भन्ने तथ्यलाई ३४ वर्षीया कमलाले चरितार्थ गर्नुभएको छ ।

जीवनको ऊर्जाशील समय आफ्ना सबै रहरहरु लत्याएर बेसहारा बालबालिकाको स्वर्णिम भविष्यको कल्पना गरेर त्यसैमा उहाँ रमाइरहनु भएको छ । आफ्नै परिवारलाई सम्हाल्न गाह्रो हुने अहिलेको समयमा एउटी युवतीले यति धेरै बालबालिकाको कसरी चित्त बुझाएकी होलिन् त भन्ने जिज्ञासा उठ्न सक्छ । उहाँको साहसमा इट्टा थप्ने कार्य घरपरिवार सँगै स्थानीयवासी याम पौडेल, दिवाकर सुवेदी लगायतले गर्नुभएको छ ।
स–साना सहयोगकै भरमा चलेको यो बालगृहमा न त कुनै विदेशी संस्थाको सहयोग छ न त राज्यको नै । सहयोग रहेको छ त केवल मनकारी केही शुभेच्छुकहरुको मात्रै । बालगृहमा रहेका बालबालिकाको लागि स्थानीय स्तरबाट स्थानीयवासीहरुले सक्दो सहयोग गर्दैआएका छन् । केही समययतादेखि भने आफ्नो जन्म दिन मनाउनेहरुले बालगृहमा आएर बालबालिकासँगै समय बिताउन थालेपछि बालगृहको चर्चा विस्तारै चल्न थालेको छ ।

आजभोलि स्थानीय युवायुवती एवं समाजसेवीहरु आफ्नो जन्म दिनको अवसरमा बालगृह आएर बालबालिकालाई लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री सहयोग गर्न थालेको बालगृहकी सञ्चालक कमलाले बताउनुभयो ।

कमला भन्नुहुन्छ – “पहिलो पटक च्याम्बर अफ कमर्श स्याङ्जाका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ आफ्नो जन्म दिन मनाउन बालगृहमा पुग्नु भयो । गुरुङले जन्म दिन मनाउने क्रममा बालबालिकासँगै केही समय बिताएर बालबालिकाका लाागि लत्ताकपडा र खाद्यान्न दिएर जानुभयो ।” जन्मदिन मनाउने कार्यलाई अन्य युवायुवती एवं समाजसेवीले पनि पछ्याउन थाले पछि भने बालगृह अहिले एक आपसमा खुशी साटासाट गर्ने थलो बन्न पुगेको छ ।

बालगृहमा बस्दै आएकी अमृता गुरुङले आफूहरुलाई यहाँ बस्न रमाइलो लागेको बताइन् । स्थानीय दामगाडे माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्ने गुरुङले चाडपर्वमा सबै भाइबहिनी मिलेर रमाइलो गर्ने, बाहिर घुम्न जाने गरेको बताइन् ।

फेदिखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले राज्यले गर्नु पर्ने काम अमोर सेवा नेपालले गरेको बताउनुभयो र बालगृहको लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । अनाथ बालबालिकाको सवाल समग्र जिल्लाको चासोको विषय भएकाले जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि सहकार्य गरेर बालगृहलाई सहयोग जुटाउन गाउँपालिका लाग्ने थापाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बालगृहमा प्रशासनको तर्फबाट पनि बेलाबेलामा अनुगमन गर्ने गरेको बताउनुभयो । बालगृहमा रहेका बालबालिका खुशी भएको अवस्थामा आफूहरुले पाएको पनि उहाँले जानकारी दिनुभयो ।

बालगृह महासङ्घ नेपालका महासचिव विजय कुमार प्रधानले देशभर १८ हजार ६१९ बालबालिका आवासीय रुपमा ५६६ बालगृहमा बस्दै आएको बताउनुभयो । गण्डकी प्रदेशको ६ जिल्लामा ९ वटा बालगृह छन् जहाँ २ हजार ११९ बालबालिका आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?