सी भ्रमणलाई आर्थिक विकासको साझेदारिताका रुपमा उपयोग गरिनुपर्ने

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणलाई आर्थिक विकासमा साझेदारी र राष्ट्रहितमा सदुपयोग गर्नुपर्नेमा राजनीतिक तथा सरोकारवाला क्षेत्रका जानकारले जोड दिएका छन् ।विश्वको महाशक्ति राष्ट्रको रुपमा उदाएको चीनले अघि सारेको आर्थिक साझेदारिताको अवधारणाअनुरुप आर्थिक समृद्धिको विषयलाई केन्द्रमा राखेर परराष्ट्र नीतिको अवलम्बन गर्दै नेपालको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा सम्झौता र समझदारी गरिनुपर्ने उनीहरुको सुझाव छ ।

नेपाल–चीन हिमालय मैत्रीपूर्ण समाजले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको उपादेयता र आर्थिक विकास र आपसी सम्बृद्धिका लागि नेपाल चीनको साझेदारी’ विषयको अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले चिनियाँ राष्ट्रपति सीको भ्रमणमा नेपाल र नेपालीका लागि असाध्यै गर्वको विषय भएको र यसलाई नेपालको हितमा सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको चीन र भारतसँग विशिष्ट प्रकारको सम्बन्ध रहेको र त्यसलाई आ–आफ्नै ढङ्गले उपयोग गरिनुपर्ने उल्लेख गर्दै नेता नेम्वाङ्ले सीघ्र प्रतिक्षाको विषय रहेको काठमाडौँ–केरुङ रेलवेको विकासले नेपाल र चीनको मात्र नभई भारतसँगको सम्बन्धलाई पनि जोड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पहिलेदेखिनै भन्दै आएको र अहिले सी चीनफिङको भ्रमणको स¬ङ्घारमा हामी चीन र भारतको बीचमा नेपाललाई भारत र चीन दुईवटा छिमेकीलाई जोड्ने पुल बन्न चाहन्छाँै । नेपालको सार्वभौम सत्ता र सम्मानलाई ध्यानमा राखेर मत्वपूर्ण सम्झौता हुनेछन् ।”

चीनसँग समस्यारहित असल छिमेकी मुलुकको सुमधुर सम्बन्ध रहेको र यसलाई नयाँ उचाइमा पु¥याइ आर्थिक लाभ लिने गरी अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम पराराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपाल र चीनबीचको दौत्य सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुका साथै आर्थिक विकासको साझेदारितालाई फराकिलो बनाउँदै नेपालको समृद्धिलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमणको दौरानमा चीनको आर्थिक विकासको साझेदारिताको नीतिअनुरुप नेपालले बढिभन्दा बढी लाभ लिने गरी यसअघि भएका सम्झौताको पुनरावलकोन र नयाँ सम्झौतालाई राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता राखेर दूरगामी प्रभाव पार्ने खालका सम्झौता हुनुपर्नेमा जोड दिनुभयो ।

सचेतक गुरुङले भन्नुभयो, “नेपालको आर्थिक विकास र स्वाधीनताको रक्षाका निम्ति आर्थिक विकासको रणनीति आवश्यक छ, चिनियाँ राष्ट्रपतिको भ्रमणको सन्दर्भमा अन्तर्राष्ट्रिय परिवेशमा पनि भ्रमणको अत्यन्तै महत्व छ । अर्को महत्वपूर्ण विषय भनेको चीनसँग विगतमा भएका सहमति सम्झौताको कार्यान्वयन गर्न र रणनीतिक महत्वका नयाँ परियोजनालाई अघि बढाउन सहयोग पुग्ने देखिन्छ । रेलवे विस्तारको योजनालाई सकारात्मक ढङ्गले अघि बढाउन जरुरी छ । सहुलियत ऋण भए पनि त्यसलाई सही ढङ्गले उपयोग गर्ने गरी रेलवेको सम्झौता गरिनुपर्छ ।”

पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले समस्यारहित छिमेकी मुलुक चीनका राष्ट्रपतिको भ्रमणलाई आर्थिक साझेदारिता अभिवृद्धि, सार्वभौम रक्षाका समान चासो र आपसी सद्भाव र सहकार्यको पक्षमा हुने गरी उपयोग गरिनुपर्ने बताउनुभयो । उहाँले नेपाल एक चीन एक नीतिप्रति प्रतिबद्ध रहेकाले चीनले पनि निर्वाधरुपमा हिमाली नाका खुलाउने विषयलाई भ्रमणका दौरानमा जोडदार उठाइनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपालको आर्थिक विकास र समृद्धिको हित अनुकूल सफल र फलदायी बनाइनुपर्नेमा जोड दिनुभयो ।

दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपा नेतृत्वको शक्तिशाली सरकारको पालामा विश्व अर्थतन्त्रको दोस्रो ठूलो मुलुक चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणको सन्दर्भमा नेपालले अधिक लाभ लिने गरी भ्रमणलाई उपयोग गरिनुपर्छ भन्नुभयो ।

चीन विषयमा जानकार डा रुपक सापकोटाले विश्वको महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनका राष्ट्रपतिको भ्रमणलाई आर्थिक विकासका प्राथमिकतायुक्त क्षेत्रको किटान गरी राष्ट्रिय अर्थतन्त्रको विविधिकरण र राष्ट्रिय स्वाधीनताको पक्षमा भ्रमणलाई सदुपयोग गर्नसक्नुपर्छ भन्नुभयो ।

राजनीतिक अर्थशास्त्री कल्याण रोक्काले आर्थिकरुपमा आत्मनिर्भर र स्वाधीन मुलुकको रुपमा नेपाललाई स्थापित गर्न रेलवेजस्ता सम्पर्क सञ्जाल विस्तार अपरिहार्य रहेको भन्दै भ्रमणको समयमा बदलिँदो परिस्थितलाई मध्यनजर गर्दै हिजो गरिएका सम्झौताको जगमा टेकेर नयाँ सम्झौता हुनुपर्ने धारणा राख्नुभयो । समाजका अध्यक्ष एवं सांसद वसन्तकुमार नेम्वाङले नेपाल र चीन सम्बन्धका नयाँ आयामलाई उजागर गर्ने गरी भ्रमणलाई उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?