भ्रमण वर्ष सफल बनाउन रौटेलामा १९ फिटको त्रिशूल

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल रौटेलामा १९ फिटको त्रिशूल स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको बताउनुभयो ।

घोषणाअनुसार रौटेलामा त्रिशूल राखिएको हो । रौटेला धार्मिक र पर्यटकीयस्थल भएकाले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशूल राखिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

प्रचारका लागि रौटेलामा यसअघि ‘होर्डिङ बोर्ड’ लगाइएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेवसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ । रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि प्राथमिकता दिएर काम अघि बढाइएको छ । रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएको छ । भारतको पूर्णागिरी माताका दर्शनार्थीलाई रौटेला बाराकुण्डासम्म पु¥याउने लक्ष्यसहित बाराकुण्डाका कुण्ड पुनःभरण गरिएका हुन् । पूर्णागिरी माताका दर्शनार्थी ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि बर्सेनि आउने गरेका छन् । बाराकुण्डामा वनभोजस्थलसमेत निर्माण गरिएको छ ।

यसैगरी बाराकुण्डाबाट विष्णु मन्दिर धामसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सरकारले गत वर्ष भम्केनी धाम, रौटेला र ब्रह्मदेवलाई १०० नयाँ गन्तव्य सूचीमा समावेश गरेको थियो । ती नयाँ गन्तव्यलाई मध्यनजर गरी प्रचार र पूर्वाधार निर्माण अघि बढाइएको हो ।

भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले रु एक करोड सहयोग गर्ने भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख रकम प्रदान गर्ने नगरपालिकाको योजना छ । पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्य अघि बढेको छ । झिलमिला तालसम्म पक्की सडक निर्माण गरिएको छ ।

त्यसैगरी झोलुङ्गे पुल किनारमा उद्यान निर्माण शुरु गरिएको छ । झोलुङ्गे पुल सौन्दर्यका लागि नेपाल पर्यटन बोर्डसित सहकार्य गरी सोलार जडान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि झोलुङ्गे पुलदेखि बागफाँटासम्म निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्गको ट्रयाक खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?