मोदीलाई भेट्न सीले प्रयोग गरे सडकमार्ग

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक भेटवार्ताको लागि शुक्रबार तमिलनाडू पुग्नुभएका चीनका राष्ट्रपति सी जिनपिङले चेन्नई विमानस्थलबाट वार्तास्थल जानको लागि हेलिकप्टरको साटो सकडमार्ग प्रयोग गर्नुभएको छ ।

चेन्नई र सी जिनपिङ बसेको माम्मल्लपुरमको होटलको दूरी ५७ किमी थियो । सीले चेन्नई विमानस्थलबाट वार्तास्थलसम्म गाडीमा पुग्दा भारतका प्रधानमन्त्री मोदी भने हेलिकप्टरबाट त्यता लाग्नुभएको थियो।

‘हेलिकप्टर प्रयोग नगर्ने कानुनजस्तै’

चिनियाँ नेताहरु हेलिकप्टर प्रयोग नगर्ने नीतिको कारण सीले गाडी प्रयोग गर्नुभएको थियाे । सोही नीतिका कारण सी लामो दुरी पनि सडक मार्गबाटै तय गर्ने गर्छन् ।

बेइजिङस्थित विदेश मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ नेताहरुले हेलिकप्टर प्रयोग नगर्ने कुरा झण्डै कानुनजस्तै छ ।

‘चिनियाँ नेताहरु हवाईजहाज र कार प्रयोग गर्छन् तर हेलिकप्टर भने मन पराउँदैनन्,’ चिनियाँ विदेश मन्त्रालयका अधिकारीको भनाई उल्लेख गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ ।

सीले जी–२० जस्तो बहुपक्षीय बैठकमा सहभागी हुदाँ पनि हेलिकप्टर प्रयोग नगर्ने गरेको अधिकारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?