जनकपुरधाम । मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवं शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयं निरीक्षण गर्ने र रातिमा जागरानमा बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने विश्वाससमेत रहेको छ ।
यस अवसरमा कतिपय परिवारमा कुल देवताको स्थानमा विशेष प्रकारले कमलदलको अरिपन गरी भगवती लक्ष्मीको र कतिपय स्थानमा कुवेर र इन्द्रको पूजा गर्ने चलन रहेको पाइन्छ । मैथिल संस्कतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने, एकअर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने परम्परा रहेको छ । त्यस्तै मिथिला क्षेत्रमा मङ्सिर, माघ, फागुन, जेठ र असार महीनासम्ममा विवाह भएका वरलाई कोजागरामा चुमाउने परम्परा रहेको छ ।
यो विवाह भएको वर्षमा मनाइने गरिन्छ । यस अवसरमा वधुको घरबाट वरको घरमा भार (पाहुर) पठाइन्छ । भारमा फलफूल, मिठाइ, दही, मखान, केरा आदि पठाइने गरिन्छ । कोजागरामा वरका लागि वधु पक्षबाट नववस्त्र, आभूषणका साथै खेल, मनोरञ्जनका सामग्री पनि पठाइने गरिएको पाइन्छ । कोजागरा वरसित सम्बन्धित पर्व हो । यसमा वरको नै चुमाओन हुन्छ । वधु ससुरालीमा भएमा वर र वधु दुवैको संयुक्तरूपमा चुमाओन गरिने चलनसमेत रहेको छ ।
चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँच प्रमुख स्थानलाई चुमाउने गरिन्छ । संस्कृतिविद् रामभरोस कापडीका अनुसार हातका पाँच औँला पञ्चमहाभूतका प्रतीक भएकाले पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने गर्दछ । चुमाओन भनेको आशीर्वादको एउटा प्रकार ठानिने हुँदा यो कार्य ज्येष्ठ र श्रेष्ठ वर्गले मात्र गर्नु हुने मान्यता रहेको छ । चुमाओन सकेपछि ज्येष्ठ–श्रेष्ठ पुरूषवर्गद्वारा वैदिक मन्त्रका साथ दूर्वाक्षत दिएर आशीर्वाद दिइने चलन पाइन्छ ।
यस अवसरमा मिठाइ, मखान, पान बाँडिने गरिन्छ । महिलावर्गमा तेल–सिन्दूर लगाइदिने परम्परा रहेको छ । यसपछि पचीसी खेल खेल्ने गरिन्छ । पचीसी एउटा खेल–विशेष हो, जसमा आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी घरमा खेल खेलिने गरिन्छ । खेल खेल्ने बेलामा घरका व्यक्ति वर र वधुका पक्षमा विभाजित भई खेल खेलेर मनोरञ्जन गर्दछन् । यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा कोजागरा उत्सवसमेत मनाइने गरिन्छ ।
सो उत्सवमा जानकी मन्दिरका महन्थद्वारा भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गरिने चलन रहेको छ । शरद पूर्णिमाको चन्द्रमालाई पूर्ण यौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । यस दिनको ज्योत्स्नामा डुल्नाले शरीरमा अमृत तत्वको प्रभाव वृद्धि हुने मान्यता पनि रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ । हिमांशु चौधरी / रासस
तस्विर गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया