काठमाडौं – “म, मेरो एनआरएनए र मेरो नेपाल” मूल नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार हुन लागेको हो ।
एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म चल्ने सम्मेलन काठमाडौँको चुच्चेपाटीस्थित होटल हायातमा सुरु भएको छ । अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा हुनुहुन्छ । विभिन्न पेसा–व्यवसायको सिलसिलामा करिब ८० लाख नेपाली देश बाहिर रहेको अनुमान छ । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन् ।
सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देश विकास र समृद्धि गरेको योगदानको सराहना गर्दै विश्वभर छरिएका नेपालीले स्वस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । पूर्वाधार विकास तथा लोक कल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको पनि उहाँले बताउनुभयो ।
विकास समृद्धिको लागि आवश्यक भएकाले उनीहरूले गरेको लगानी प्रोत्साहन गर्न राज्य प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।
संघका पूर्वअध्यक्ष शेष घलेले संघले भिजन २०२० मार्फत गरेको वाचा पूरा गर्नु संघको कर्तव्य रहेको बताउनुभयो ।
समारोहमा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले १६ वर्षमा संघ निकै बलियो बनेकाले राज्य गैरआवासीय नेपालीप्रति गर्व महसुस गर्नुपर्ने बताउनुभयो ।
आयोजित सम्मेलन संघको महाधिवेशन पनि हो । सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरू भएको हो । सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया