काठमाडौं- एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आउनुभएका प्रतिनिधि रमेश थापा ५० हजार रुपैयाँ धरौटी तिरेर थुनामुक्त हुनुभएको छ । अध्यागमन विभागले उहाँलाई सो कसुर गर्न उक्साउने र अश्लील व्यवहार गर्ने उषाकिरण वरियालाई २५ हजार रुपैयाँ धरौटी लिइएको छ । तर उक्साउने भनिएकी महिला पक्राउ भने परेकी थिइनन् । सीसीटिभी फुटेजमा थापाले मात्र सिसा फुटाएको देखिएकाले उनीमात्रै पक्राउ परेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार तोडफोड गरेपछि उहाँ पक्राउ पर्नुभएको थियो । रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उहाँविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो ।
भएको के थियो ?
थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएको विमानस्थलका कर्मचारी र अनुसन्धानमा खटिएका अधिकारीको भनाइ छ ।
घटनालगत्तै अध्यागमनका कर्मचारीले प्रहरी बोलाएका थिए । प्रहरीले थापालाई पक्राउ गरेको थियो ।
यसअघि काठमाडौंबाट सिंगापुर जाँदै गर्दा अत्यधिक मदिरा सेवन गरेको भन्दै सिल्क एयरका क्रु मेम्बरले एनआरएनएका अध्यक्ष भवन भट्टलाई र सनत न्यौपानेलाई जहाजबाट बाहिर निकालिदिएका थिए ।
उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि अध्यक्ष भट्ट काठमाडौँबाट सिंगापुर जान लाग्नुभएको थियो । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उहाँसँगै रहनुभएको सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका थिए ।
मदिरा पिएको थाहा पाएपछि जहाजका क्याप्टेन नै आएर ‘हामी तपाईलाई यहाँ राखेर उडान गर्न सक्दैनौँ’ भनी बाहिर निकालेको न्यौपानेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया