काठमाडौं । चुरे पर्वत शृङ्खलामै रहेको स्वच्छ, सुन्दर र मनमोहक झिलमिला तालको न पानी घट्छ, न बढ्छ । तालको पानी कञ्चन छ । तालको चारैतिर घना जङ्गल भएर पनि पानीमा रुखका पात खसेका भेटिँदैन । न त पानीको कुनै निकास नै भेटिन्छ । छिनछिनमै तालले रङ फेर्ने भएकाले ताल हेर्न आउने पर्यटक मन्त्रमुग्ध हुने गरेका छन् ।
भीमदत्त नगरपालिका वडा नं ९ चुरे पहाडमा झिलमिला ताल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने गरेको छ । ताल क्षेत्रमा चिरबिर गर्ने चराहरुको आवाज र हिँड्दै गरेका बेला देखिने जङ्गली जनावरको बथानले यस क्षेत्रमा पुग्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ । तालको छेउमै माता झिलमिलाको सानो मन्दिर छ । त्यसै मन्दिरमा मनोकाँक्षा लिएर आउनेहरु स्तुति गरिरहेका देखिन्छन् ।
“अप्ठेरो समस्यामा परेका मान्छेहरु आनो मनोकामना लिएर आउँछन्, माता झिलमिलाको दर्शन गरेपछि त्यो मनोकामना पूरा हुने विश्वास गरिन्छ,” झिलमिला विकास समितिका उपाध्यक्ष एवं समाजसेवी लाल बहादुर विष्टले भन्नुभयो ।
“सानैदेखि यो ताल देखेको छु, न त यसको पानी कतै निकास हुन्छ, न त कम हुन्छ, बर्खामा थोरै बढ्छ,” समाजसेवी विष्टले भन्नुभयो – “यो तालमा के शक्ति छ रु कस्तो शक्ति छ रु आजसम्म कसैलाई पनि थाहा छैन ।” बिहान, दिउँसो र साँझ तीन पटक तालको पानीको रङ फेरिने गर्छ । बिहान सुनहरा, दिउँसो नीलो र साँझ हरियो रङ देखापर्छ । दैनिक रङ फेरिने भएकाले यसको नाम झिलमिला राखिएको हो ।
महाभारतमा झिलमिला तालको अलौकिक शक्तिको वर्णन गरिएको छ । पाण्डवहरु वनबास गएको समयमा द्रोपतीलाई पानीको प्यास लाग्यो । अर्जुनले रुखमा चढेर पानी भएको ताल देखेपछि एक भाइलाई त्यहाँ पठायो । पानी लिन गएका भाइ फर्केर आएन । त्यसपछि गएका अर्का भाइ पनि फर्केन । सबैको त्यहीँ ज्यान गयो । अन्तिममा युधिष्ठिर आफैं पानी लिन गए ।
त्यही बेला तालबाट निस्केको अदृश्य शक्तिले युधिष्ठिरलाई प्रश्न सोधे । सबै प्रश्नको जवाफबाट सन्तुष्ट भएपछि उनलाई एउटा भाइ जिउँदो माग्न वर माग्न लगाइयो । युधिष्ठिरले भाइ अर्जुनलाई ब्यूँताउन माग गरे । त्यसपछि त्यो अलौकिक शक्ति खुशी भएर युधिष्ठिरका सबै भाइलाई जिउँदो बनाएको कथा छ । “महाभारतको यो कथाले पनि यो तालमा अलौकिक शक्ति भएको विश्वास दिलाउँछ,” समाजसेवी विष्ट भन्नुहुन्छ ।
यस तालले प्राकृतिक र धार्मिक महत्व बोकेको छ । प्राकृतिक रुपमा चारैतिर जङ्गलले घेरिएको यस तालले दैनिक रङ अदलबदल गरी मन लोभ्याउने गर्छ । दर्शनार्र्थीले फ्याँकेका अक्षता खान हूल बाँधेर आउने कालो रङ भएका एकनासका जुँगे माछाले समेत पर्यटक ध्यान खिच्छ । काला माछा बाहेक तालमा सर्प पनि देखिने गरेको छ । तालमा दैवीय शक्ति भएको मान्यताका कारण माछा मारेर खाने गरिएको छैन ।
केही वर्ष अघि माछालाई पोलिथिनमा राखेर घर लैजान खोज्ने भारतीय नागरिक बेहोस भएको स्थानीय बासिन्दा बताउँछन । डेढ किलोमिटर लम्बाइको यो ताल चार बिघा क्षेत्रफलमा फैलिएको छ । सत्र मिटर गहिराइको ताल चारैतिरबाट साल, साज, जामुनको घना जङ्गलले ढाकिएको छ । तालको चारैतिर परिक्रमा पथ निर्माणको कार्य अघि बढाइएको छ । अहिले ६०० मिटर लम्बाइको परिक्रमा पथ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
तालको चार दिशामा देवीदेवताको थापना गरिएका छन् । दक्षिणतिर झिलमिला माताको मन्दिर छ । माताको मन्दिर नजीक सिद्ध बैजनाथ, पश्चिमी किनारमा काली अर्थात दुर्गा माता र अर्को छेउमा पूर्णागिरीको मन्दिर छ । हरेक दर्शनार्थी सबै देवी देवताको पूजापाठ गरी फर्किने गर्छन् ।
वर्षभरि दर्शनार्थी जाने झिलमिला तालमा माघे सङ्क्रान्तिको अघिल्लो रात जात्रा लाग्छ । त्यस दिन देशभित्र र बाहिरका दर्शनार्थीहरु रातभर जाग्राम बसेर भजनकीर्तन गर्छन् । अर्को दिन देवी देवताका मन्दिरमा पूजापाठ गर्छन् । पूर्णागिरी मेला अर्थात् चैते दशैँमा भारतका विभिन्न शहरबाट दर्शनार्थी आउँछन् ।
भीमदत्त नगरपालिकाको मटेनाबाट चुरेको जङ्गल हुँदै दुई घण्टामा ताल पुग्न सकिन्छ । मटेनाबाट गहुँताणी मन्दिर हुँदै ताराकोट भएर झिलमिला पुग्न सकिन्छ । ब्रह्मदेव र कालीताल झरना बाटो भएर ताराकोट हुँदै तालसम्म पुग्ने सडक सँगै पदमार्ग निर्माण गरिएको छ । मटेनामा ताराकोटसम्म ९ दशमलव ५ किलोमिटर र त्यसपछि डेढ किलोमिटर दूरी उकालो र तेस्रो बाटो पार गरी ताल पुग्न सकिन्छ । दर्शनार्थीको सहजताका लागि सडक बनाउन शुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाले तालसम्म पुग्ने मोटर बाटो बनाउने योजना अघि सारेको छ । मटेना हुँदै ताराकोटसम्म पक्की सडक र त्यसपछि डेढ किलोमिटरमा पदमार्ग निर्माण गरी तालसम्म पुग्ने योजना अघि सारिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । “तालको संरक्षण र प्रचारप्रसार गरी पर्यटकीय क्षेत्र बनाउने सोचाइका साथ योजना अघि बढाएका छौं,” नगर प्रमुख विष्टले भन्नुभयो – “यसका लागि सङ्घ र प्रदेश सरकारबाट पहलकदमी लिइएको छ ।”
ताल नजीक पूजापाठ गर्न र बस्न धुनीघर, पूजारी घर र धर्मशाला बनाइएका छन् । धर्मशाला दुई वटा छन् । ताल वरिपरि चक्रपथ निर्माण गरिएको छ र ताल छेउ बस्न बेञ्च राखिएका छन् ।
“ताल क्षेत्रमा पुग्ने पर्यटक र भक्तजनहरुको सुविधाका लागि शौचालय निर्माण, सौर्य उपकरण जडान गरिएको छ,” झिलमिला संरक्षण समितिका उपाध्यक्ष लाल सिंह विष्टले भन्नुभयो ।
तालको उत्तर र पूर्वी किनारबाट बर्खामा आउने माटोले पुरिने गरेको छ । ताल पुरिन नदिन सजग हुनुु पर्ने उपाध्यक्ष विष्टको भनाइ छ ।
तत्कालीन जिल्ला समन्वय समितिका सभापति ऋषिराज लुम्सालीले तालसम्म पुग्न सडक खन्न लगाउनुभएको थियो । जिविसको विश्व खाद्य कार्यक्रमअन्तर्गत खनिएको सडकमा केही समय गाडी पनि गुडेका थिए । सशस्त्र द्वन्द्वका कारण सवारी सञ्चालन रोकिएको थियो । धूमपान निषेधका अभियन्ता हेल्प नेपाल कञ्चनपुरका मदन चन्द, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय सञ्चार केन्द्र लगायतले तालको प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्दैआएका छन् ।
भीमदत्त नगरपालिका वडा नं ९ मटेना, ब्रह्मदेब र भीनपा–१० तिलकेनीबाट झिलमिला ताल पुग्न सकिन्छ । चुरे फेदबाट दुई घण्टा पैदल हिँडेपछि ताल छेउ पुगिन्छ । यी तीनै ठाउँका बाटा ताराकोटमा जोडिन्छ ।
भीमदत्त नगरपालिकाले भ्यू टावरका लागि प्रस्ताव गरेको ताराकोटमा यस अघि स्थानीय बासिन्दाका गोठ थिए । चुरे संरक्षण कार्यक्रम शुरु गरिएपछि ती गोठ हटाइएका हुन् । ताराकोटबाट माथि झिलमिला हिँडेपछि माछा मासु खान नपाइने भएकाले ताराकोटलाई वनभोज स्थल बनाउने नगर प्रमुख विष्टको योजना छ ।
मटेनाबाट गहुँताणी मन्दिर हुँदै जङ्गल छिचोलेर जाँदा ताराकोट पैदलै पुगिन्छ । तिल्केनीको बाटो भएर ताराकोट जाँदा कालीनाल झरना देख्न पाइन्छ । त्यहाँबाट हिँडेर ताराकोट हुँदै झिलमिला पुग्न सकिन्छ । डडेल्धुराबाट आउनेले भने परशुराम नगरपालिका न्वाला गाउँको बाटो समात्नु पर्छ । भीमदत्त नगर र डडेल्धुराको परशुराम दुबै नगरपालिका जोड्न दुबै स्थानीय तह एकमत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया