अछामको तुर्माखाँद गाउँपालिका तनावग्रस्त

अछाम । अछामको तुर्माखाँद गाउँपालिका तनावग्रस्त बनेको छ । गाउँ कार्यपालिकाले मनोमानी ढंगले निर्णय गर्न थालेपछि आक्रोशित बनेका तुर्माखाँदवासी आन्दोलनमा उत्रिएपछि गाउँपालिका तनावग्रस्त बनेको हो ।

पछिल्लोपटक गत असोज ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले प्रत्येक स्थानीय तहमा एक रंगशाला निर्माण गर्ने संघीय सरकारको योजना अनुसार गाउँपालिकाले पाउने रंगशाला गाउँपालिकाको केन्द्रमा सिफारिस नगरेर अन्यत्रै सिफारिस गरेपछि स्थानीयवासी आन्दोलित बनेका हुन ।

उनीहरूले असोज ४ गतेको निर्णय खारेज गर्न माग गर्दै गाउँपालिकाई तत्काल व्यवस्थित गर्नतर्फ लाग्न समेत आग्रह गरेका छन । गाउँपालिकाको केन्द्र रहेको स्थान वडा नम्बर ४ मा खेलकुद मैदानसहित कुनैपनि भौतिक पूर्वाधार नबनेको अवस्थामा संघीय सरकारले निर्माण गर्ने भनिएको रंगशाला वडा नम्बर ७ को बास्काँडामा बनाउनेगरी सिफारिस गरेपछी स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन ।

पुष्प शर्मा नेतृत्वको गाउँ कार्यपालिका विरुद्ध नागरिक समाजका तर्फबाट भएको आन्दोलनमा सर्वसाधारणका साथै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बौद्धिक वर्गले पनि साथ दिएका थिए । पहिलो दिन शान्तिपूर्ण प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका स्थानीयवासीले, दोस्रोपटक भाडाको घरमा रहेको गाउँपालिको भवनमा तालाबन्दी गरेका थिए ।

सोही क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो । यस्तै, तेस्रोपटक धर्ना दिएका थिए । तर, गाउँपालिकाका अध्यक्ष शर्माले भने सर्वसाधारणलाई भ्रममा पारेर षड्यन्त्र गरिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?