काठमाडौं । भानु नगरपालिकाका छ वटा वडाका बासिन्दाको जीवन बीमा गरिने भएको छ । मानव वन्यजन्तु द्वन्द्व प्रभावित रहेका नगरपालिकाका वडा नं १, २, ३, ४, ११ र १३ का बासिन्दाको जीवन बीमा गर्न लागिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा चितुवा, भालु, बाँदर र मानिसबीच द्वन्द्व बढ्दै जाँदा ठूलोमात्रामा जनधनको क्षति हुँदै आएको हुँदा राज्यलाई आर्थिक भारमा समेत न्यूनीकरण गर्न बीमा कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । स्थानीय सामुदायिक वन, नगरपालिका, डब्लुडब्लुएफ र प्रभावित क्षेत्रका बासिन्दाको सहभागितामा शिखर इन्स्योरेन्स कम्पनीसँग जीवन बीमा गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
यही कात्तिक ३ गतेदेखि उक्त वन्यजन्तु प्रभावित वडाका प्रत्येक घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने योजना रहेको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बीमा कार्यक्रममा संलग्नपश्चात् बीमितले उपचार खर्च रु दुई लाख, मृत्यु भएमा रु १० लाख, बाख्रा मरेमा रु १२ हजार, गाईभैँसी मरेमा रु ३५ हजार र बालिनाली, घरबास क्षति भए क्षतिको मूल्याङ्कन गरी राहत÷बीमा रकम उपलब्ध गराइने भएको छ ।
उक्त क्षेत्रका बासिन्दाको पाँच प्रकारको बीमा गर्ने योजना रहेको छ । बीमा कार्यक्रममा सहभागीपश्चात् वन्यजन्तुको आक्रमण तथा ९आत्महत्याबाहेक० अन्य दुर्घटनाबाट मानिसको मृत्यु भएमा, कुनै पनि विपद्बाट घर क्षति भएमा, वन्यजन्तु तथा प्राकृतिक प्रकोपका कारण पशुधन र अन्नबाली क्षति भएमा बीमितले राहत पाउने गरी बीमा कार्यक्रम ल्याउने तयारी गरिएको छ ।
वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दाको जीवन बीमा कार्यक्रम प्रभावकारी रहे पनि बीमाबापतको प्रिमियम कसले बुझाउने भन्ने बिषयमा विवाद रहेको वडा नं १३ का अध्यक्ष रामबहादुर बानियाँले बताउनुभयो ।
पासो थाप्न खोर निर्माण
उक्त क्षेत्रमा चितुवाको आक्रमणमा परी डेढ वर्षको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने भालुको आक्रमणमा परी छ जना घाइते भएका छन् । पटकपटक चितुवाले त्यस क्षेत्रमा गाउँ घरमा नै आएर बालबालिका माथि निरन्तर आक्रमण गरेपछि चितुवा नियन्त्रणका लागि खोर निर्माण प्रक्रिया अघि बढाइएको हो ।
यसअघि जङ्गलमा डिभिजन वन कार्यालयले दुई फलामका खोर र स्थानीयले दुई काठका खोर बनाएर पासो थापेका छन् । एघार खोर निर्माण गर्ने योजनाअनुरुप अब सात खोर निर्माण कार्यलाई तीव्रता दिइएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया