गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

काठमाडैं । प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेण्टमा छाडिएको हो ।

प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक वातावरणमा घुलमिल हुनसक्ने भएपछि प्राकृतिक बासस्थानमा छाडिएको हो । प्राकृतिक बासस्थानमा छाडनुअघि प्रजनन केन्द्रबाट ल्याइएका गिद्धलाई पिठौलीमा रहेको ‘रिजिलएभिएरी’ (बाहिरी वातावरण देख्न सक्ने गरी निर्माण गरिएको जालीको घर) नौ महीनासम्म राखिएको थियो । नौ महीनासम्ममा अन्य बाहिरी वातावरणको अवलोकनपश्चात बाहिर रहेका गिद्धसँग घुलमिल हुनसक्ने देखिएपछि प्राकृतिक बासस्थानमा छाडिएको जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले बताउनुभयो ।

तीनपटक गरेर कसराको प्रजनन केन्द्रमा हुर्काइएका ३१ गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । यसअघि पहिलोपटक विसं २०७४ मा छ गिद्ध र दोस्रोपटक विसं २०७५ मा १२ गिद्ध प्राकृतिक बासस्थानमा छोडिएको थियो । यसअघि प्राकृतिक बासस्थानमा छाडिएका गिद्ध सहजरुपमा बाह्य वातावरणमा घुलमिल भएको संयोजक चौधरीले बताउनुभयो । यसले गिद्ध संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।

प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक बासस्थामा छाडिनुपूर्व गिद्धको ढाडमा स्याटेलाइट ट्याग जडान गर्ने गरिन्छ । यसले गिद्धको आनिबानी थाहा पाउन सकिने संयोजक चौधरीले बताउनुभयो । यसअघि छाडिएका गिद्ध देशका करीब २० जिल्लाको २४ हजार वर्ग किलोमिटर क्षेत्रमा चरणका लागि पुगेको देखिएको छ ।

एउटा स्याटेलाइट ट्याग जडान गरिएको जङ्गली गिद्ध पिठौलीबाट करीब एक हजार १०० किलोमिटर टाढा पश्चिम–उत्तरतर्फ भारत र पाकिस्तानको सीमा जम्मु कस्मिर क्षेत्रसम्म पुगेको समेत पाइएको संयोजक चौधरीले बताउनुभयो । गिद्धलाई शुद्ध आहारा उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले विसं २०६३ मा स्थानीय समुदायको सक्रियतामा नवलपुरको कावासोती नगरपालिका पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको गिद्ध संरक्षण केन्द्रका रुपमा जटायु रेष्टुरेण्ट स्थापना गरिएको थियो ।

जटायु रेष्टुरेण्टमा अघिल्लो वर्षको तथ्याङ्कअनुसार २०३ गिद्ध रहेका छन् । स्थापनाको समयमा यहाँ सात प्रजातिका ७२ गिद्ध रहेको गणना गरिएको थियो । अहिले नेपालमा पाइने नौ प्रजातिकामध्ये आठ प्रजातिका गिद्ध यहाँ पाइन्छ । रैथाने चार प्रजातिका गिद्ध रहेका छन् भने बाँकी चार प्रजाति हिमाली क्षेत्रबाट जाडो मौसममा बसाइँसराइ गरी आउने गरेको संयोजक चौधरीले बताउनुभयो ।

नमूना मध्यवर्ती सामुदायिक वनको ५० हेक्टर क्षेत्रफलमा जटायु रेष्टुरेण्ट स्थापना गरिएको छ । गिद्धका आहाराका लागि वनभित्रै बृद्ध गाई पालिएको छ । गाई मरेपछि गिद्धको आहाराको रुपमा प्रयोग गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?