काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ। हत्यापछि एक स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।
लामोसाँघु–जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रबिसे नगरपालिका-४ पलातीका ३० वर्षीया जीवन थापाको हत्यापछि मलखाडलमा लगेर शव गाडिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
शुक्रबार बेलुकीदेखि हराइरहेका थापाको खोजबिनका क्रममा मलखाडलमा गाडेको अवस्थामा शव फेला परेको सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिनुभयो । गत मङ्सिरदेखि लामोसाँघु–जिरी सडक निर्माणको जिम्मा पाएको गौरी-पार्वती ठेकेदार कम्पनीमा कार्यरत थापा एक किलोमा रहेको कम्पनीको कार्यालयमा बस्दै आएका थिए ।
शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो । थापाको हत्याको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेले सुनकोशी-७ स्वारा निवासी प्रतिमा विश्वकर्मा र जुना कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । घर छेउकै जङ्गलमा लुकिरहेको अवस्थामा प्रतिमालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिमाले बयानका क्रममा आफूले मादक पदार्थ सेवन गरेर सुतेको र राति आफू नजिकै जीवन पनि सुतिरहेको देखेपछि छाम्दा चिसो भइसकेको पाएपछि बिहान घिसारेर नजिकै रहेको जुना कार्कीको घर छेउमा रहेको मलखाडलमा लगेर गाडिदिएको बताएकी छिन् ।
जुना कार्कीले भने मृतक जीवन थापालाई घिसारेर लैजाँदै गरेको देखेको र गाडेको देखे पनि प्रहरीलाई खबर नगरेको बयान दिएको इलाका प्रहरी कार्यालय बाह्राबिसेले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया