९ हजार प्रहरीलाई कारबाहीमा परे
मनिला- फिलिपिन्समा पछिल्ला केही बर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही भएको अधिकारीहरुले जनाएका छन् ।
फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो ।
कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
कार्यवाहक प्रहरी प्रमुखले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका कारण ती प्रहरीहरू कारबाहीमा परेका हुन् ।
प्रहरीका लेफ्टिनेन्ट जनरल फ्रान्सीस्को गाम्बोआले कारबाहीमा परेकामध्ये दुई हजार ८०६ जनालाई सेवाबाटै निस्कासन गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी अरु ५३५ जनलाई घटुवा गरिएको, ४७ सय २१ जनालाई निलम्बन गरिएको, ७ सय ६२ जनालाई नसियत दिइएको, ६० जनालाई चार महिनाका लागि निस्कासन गरिएको, २०८ जनाको तलब रोक्का गरिएको र ८० जनालाई अधिकारबिहीन गराइएको उहाँले बताउनुभयो ।
निस्कासनमा परेकामध्ये केही प्रहरी लागुऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१९ को नौ महिनामा मात्रै २२ सय ८६ जना यसैखालका कारबाही भएका छन् ।
फिलिपिन्समा सरकारले लागूऔषध विरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ भने त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन् । यस्तो कारबाही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया