५७ सालमा बलात्कारपछि हत्या गरी फरार अभियुक्त पक्राउ, यसरी खोजेको थियो प्रहरीले

काठमाडौं । २०५७ सालमा युवतीलाई बलात्कारपछि हत्या गरी फरार भएका झापा चन्द्रगढी–३ का लिलाराज गौतमलाई नेपाल प्रहरीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

२०५७ असोज २९ गते राति गौतम, मनोज खड्का, सिताराम बस्नेतसमेत ३ जना मिली झापा चन्द्रगढी ३ बस्ने एक यूवतीलाई बलात्कार गरी घाँटी थिची हत्या गरी नजिकै चारआली जंगलको छेउको रुखमा झुण्डाएका थिए ।

घटनाको भोलिपल्ट मृतकका बुबाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए । प्रहरीले गौतमलाई पक्राउ गरी झापा जिल्ला अदालतमा जबरजस्ती करणी तथा ज्यान कर्तव्यमा मुद्दा दायर गरेकोमा गौतमलाई झापा जिल्ला अदालतले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो।

तर पुनरावेदन अदालत इलाम हुँदै सर्वोच्च अदालतमा पुगेको मुद्दामा २०६६ भदौ २९ गते सर्वोच्चले गौतम समेतलाई जन्मकैदको फैसला गरेको थियो। सर्वोच्चले गौतम हिरासतमा बसेको १० महिना कट्टा गरी बाँकी १९ वर्ष २ महिना कैद गर्न फैसलामा उल्लेख गरेको थियो।

उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल झिकाउन सफल भएको हो । उनीविरुद्ध २०७४ मंसिर १२ गते रेड नोटिस जारी भएको थियो ।
इन्टरपोल वासिङ्टनसँग भएको समन्वयको क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि फेब्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यु्रिटीको हिरासतमा रहेका थिए ।
अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् प्रहरीले जारी गरेको विज्ञप्ति :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?