पशुपति आर्यघाटको लफडा, भयो यस्तो सहमति

काठमाडौं । आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढ्ने भएको छ । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसार लगायतका सबै कामहरु बन्द गरेका थिए ।

उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा। प्रदीप ढकालले जानकारी दिनुभयो ।

पहिले भएकपो पारिश्रमिकबाट एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइदिएसंगै दुईपक्षबिच सहमति भएको हो ।

कोषका सदस्य सचिव ढकालका अनुसार उनिहरुले अवकास पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?