काठमाडौं । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट दिनुभएको राजीनामाको स्वीकृत गर्नुभएको छ ।
राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपतिका प्रमुख प्रवक्ता सेदिक सिदिक्कीले ट्वीटरमार्फत पुष्टि गर्नुभएको छ ।
‘जमात ए इस्लामी अफ अफगानिस्तान’ पार्टीका नेतासमेत रहनुभएका रब्बानीले बुधबार दिउँसो घानीलाई पत्र पठाएर राजीनामाको घोषणा गर्नुभएको थियो ।
‘विदेश मामिलासम्बन्धी मन्त्रीको रूपमा पाँच वर्षको सेवापछि मैले आफ्नो पदबाट राजीनामा गरेको छु’ उहाँले आफ्नो राजीनामा पत्रमा लेख्नुभएको बताइएको छ ।
आफूले विदेश मन्त्रीबाट राजीनामा गरे पनि अफगान जनताको सेवामा समर्पित रहने पनि सो पत्रमा बताउनुभएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्यपछि देशले हालैमात्र चौथो पटक राष्ट्रपतिको निर्वाचन सम्पन्न गरेको छ । उक्त निर्वाचनको परिणाम भने अझै सार्वजनिक गरिएको छैन ।
उक्त निर्वाचनको केही हप्तापछि विदेश मामिलासम्बन्धी मन्त्रीको राजीनामा आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया