सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घ भरमा परेर कर्णालीको विकास नहुने बताउनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको दश दिने भ्रमणगरी बुधबार स्वदेश फर्कनुभएका मुख्यमन्त्री शाहीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेशले विकासको वातावरण तयार गर्ने र सङ्घले त्यसको अनुमति सहमति प्रदान गर्ने बताउनुभयो ।
तिब्बत र कर्णाली हिजो व्यापारका दृष्टिले पनि नजिक रहेको र २०० वर्षदेखि कर्णालीसँग यसको सम्बन्ध कायम हुनुले विकासमा तिब्बत सरकार सहयोग रहने उहाँले विश्वास दिलाउनुभयो । तिब्बत सरकारले बस्ती विकासमा विशेष ध्यान दिएको जानकारी दिँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशले पनि एकीकृत बस्ती विकासको कार्यक्रम अघि सारेको बताउनुभयो ।
“हिजोको तरिकाबाट विकास हुन सक्दैन । त्यसका लागि अध्ययन आवश्यक हुन्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “त्यसैले यहाँका विकास परियोजनाको सर्भे गर्न आवश्यक छ ।” उहाँले अगाडि भन्नुभयो, “तिब्बत सरकारले कृषि उत्पादनमा बढी जोड दिएको छ । कर्णाली कृषि उत्पादनको सम्भाव्य भूमि भएकाले कृषि, पर्यटन, जडीबुटी र पूर्वाधार विकासमा जोड दिन जरुरी छ ।”
उहाँले नेपालको पुरानो सम्बन्ध रहेको ल्हासा र अरनिको भृकुटीदेखिको सामिप्यताका साथै व्यापार व्यवसाय सहजताका हिसाबले उत्तरीनाका जतिसक्दो छिटो खोल्न पहल भइरहेको जनाउनुभयो । कर्णाली प्रदेश सरकारले चाइना रेल्वे इञ्जिनीयरिङ कम्पनीको सहयोगमा सुर्खेत–हिल्सा सडक सम्भाव्यता अध्ययन गरेकाले अब निर्माण हुने तयारीमा पुगेको बताउनुभयो ।
राष्ट्रिय गौरवका योजना निर्माण गर्न प्रदेश सरकारलाई संवैधानिक व्यवस्था नभए पनि प्रदेश विकास वातावरण तयार गरेर सङ्घीय सरकारसँग पहल र अनुरोध गर्ने उहाँको भनाइ थियो । नेपाल वायुसेवा निगमको आन्तरिक उडान कर्णाली प्रदेश अन्य जिल्लासँग जोडिन नसक्दा समस्या भएको जनाउँदै मुख्यमन्त्री शाहीले विकल्पका रुपमा निजी विमान कम्पनीसँगको सहकार्य अघि बढाउने सोच सरकारले लिएको बताउनुभयो ।
कर्णाली र सान्ताउ प्रदेशबीच भगिनी सम्बन्ध जोड्ने र त्यसो नभए वीरेन्द्रनगर र त्यहाँको सान्ताउ सिटीबीच भगिनी सम्बन्ध जोड्ने कुरा तिब्बत सरकारसँग अघि सारिएको उहाँको भनाइ थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया